शहरले अपहरण गरेको छ, तिम्रो आत्मा

र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी

देश, म त्यही आस्था र ढुकढुकी खोज्दै

यस्तो गाउंमा आईपुगेको छुं

जहां मान्छेहरु भन्दा बढी घरहरु छन्

जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

मेरो अनुहारनै

एउटा प्रश्न भएर अगाडि उभिए पछि

गाउंका बृद्ध मुखिया ओतेले भने –

“युवतीहरु सपना खोज्न शहर पसेका छन्

युवाहरु जिवन खोज्न बिदेश पसेका छन्

र प्राण थामि रहेका बुढा बुढीहरु

आंगनमा काल पर्खेर बसेका छन्

यो गाउंको तातो पसिना

बिदेशको माटोमा बगेको छ

यो गाउंको तातो रगत

बिदेशको पानीमा बगेको छ ।”

मैले सोधें –

“कसले रोपेर गए

लाहुरे फुलका यि उदास बोटहरु ?

कसले गोडेर गए

फुलबारी, करेसाबारी र खेतबारीहरु ?

खोई बिहान जगाउन

भालेहरु बासेको यो गाउंमा ?

खोई गाउं ब्युंझाउन

हिमालहरु हांसेको यो गाउंमा ?”

गाउंको जम्मै उज्यालो बिदेश लैजाने

छोरा छोरीहरु सम्झदै

बृद्ध मुखिया आतेले रुंदै भने –

“लाहुरे फुलहरु नओईलाउंदै

र बिहान ब्युंझाउन भालेहरु नबास्दै

उनीहरु आएनन् भने

मृत्यु आउने छ हाम्रा ओछ्यानहरुमा

हामीहरु सबै यसरी मर्नेछौंकी

मलामी जान पनि कोही बांकी रहने छैनन् !”

मैले देखि रहेको थिएं –

शहरमा एक रात पनि बास नपाएर

संवेदनामा संस्कृतिहरु गाउं पस्दै थिए

र यहि क्रममा

तामागी

देशको मानचित्रबाट मेटिदैं थियो !