एउटा साँचो मैले तिमीलाई दिएको छु

म आँफै एउटा बन्द कोठा हुँ

कहिलेकाहीँ

आँफै खोल्न सक्दिन कोठाको ताल्चा

छिर्न सक्दिनँ कोठाभित्र

र छिरिहालें भने पनि

बुझ्न सक्दिनँ कोठाको मौन-ध्वनि

मैले पनि खोल्न नसकेका पानाहरु छन्

पढ

र सच्याउ यो कोठाको नमिलेको ब्याकरण

उडेको छ रङ भित्ताको

त्यसलाई मुटुको रङले सजाउ

बर्षौदेखि

काम चलाएको छु सीमित हावाले

झ्यालहरु खोल

र नयाँ हावा भित्रिन देउ

साँघुरो हुनसक्छ कोठा तिमीलाई

मसँग तन्किने भित्ताहरु छन्

यसलाई आफू अट्ने गरी तन्काउ

बन्द आफुलाई सम्पूर्ण खोल्न

कोही एकजनाको हात चाहिँदो रहेछ

कोही एकजनाको साथ चाहिँदो रहेछ

मलाई खोल्न

एउटा साँचो मैले तिमीलाई दिएको छु !