साइरन बजाउँदै

एम्बुलेन्स दौडिरहेको छ –

सडकमा !

अस्पताल कहाँ छ

एम्बुलेन्सलाई थाह छैन

एम्बुलेन्सलाई सिर्फ थाह छ –

भित्र सिटमा

समय सडकमा दुर्घटित

सख्त बिरामी सुतिरहेको छ

र उसलाई

यथासक्य चाँडो अस्पताल पुर्याउनु

अत्यन्त जरुरी छ

मान्छेहरु छिटो अझ छिटो

भत्किएको सडक मर्मत गर

र एम्बुलेन्सको लागि खाली गरिदेउ

यो सडक

यही सडकमा

साइरन बजाउँदै दौडिरहेको छ –

एम्बुलेन्स !

मेरो बिरामी देश बोकेर

सडकमा

एम्बुलेन्स दौडिरहेको छ !