नदीहरु

मान्छेलेझैं राजनीति गर्दैनन

नदीहरु

मान्छेले झैं कुटनीति जान्दैनन

निर्जिब सञ्चेतनाक पर्खालहरु भत्काएर

कुरूप हातहरु उचाल्दै नदीहरु

हिलो छ्यापाछ्याप गर्दैनन

पानी बाराबार गर्दैनन

नदीहरु रंग-बिभाजन गर्दैनन

नदीहरु

जात-बिभाजन गर्दैनन

नदीहरुको संबिधानमा

सानो मुललाई पनि

सागर बन्ने उत्तिकै अधिकार हुन्छा

सानो खोलालाई पनि

सागर बन्ने उत्तिकै अधिकार हुन्छा

बिनाकुनै प्रतिबन्ध

पहाड चढ्न सक्छन नदीहरु

पहाड फाँड्न सक्छन नदीहरु

नदीहरु

मनलागे सुक्न जान्दछन

मनलागे फुक्न जान्दछन

तर कदाचित नदीहरु

मान्छेजस्तै झुक्न जान्दैनन

मान्छेजस्तै दुख्न जान्दैनन

नदीहरु मान्छेले झैं

अहंममा चोट लाग्ने भयले

सृस्टिले ठगेका गरिब र पुड्का खोलाहरु देखेर

टाढैबाट तर्किएर हिंडदैनन

नदीहरु मान्छेले झैं

रंग नमिल्ने भयले

छुट्टै बाटो ताकेर हिंडदैनन

नदीको कालो पानी

नदीको सेतो पानी संग मिल्न सक्छ

नदीहरु जन्मजात निग्रा हुँदैनन

नदीहरु जन्मजात गोरा हुँदैनन

नदीहरु आर्य-मंगोलियन हुँदैनन

हिन्दी-मुस्लिम हुँदैनन

बुद्धिस्ट-क्रिस्चियन हुँदैनन नदीहरु

नदीहरु

नदीहरुजस्तै हुन्छन

मान्छेजस्ता हुँदैनन