एक्लै कति

सुन्दर भएर बसिरहोस कविता

एक्लै कति

सौन्दर्यको एकोहोरो प्रेमी बनिरहोस कविता

आज त्यसलाई

कुरूप पार्न मन लागिरहेको छ !

सबैभन्दा कुरूप राज्यसत्तामा पनि

सबैभन्दा सुन्दर देखिँदो रहेछ कविता

सबैभन्दा फोहोर

हिंसाको समुद्रमा नुहाएर

सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता

आज त्यसलाई

कुरूप पार्न मन लागिरहेको छ !

आउ प्रिय कविहरु

यसपल्ट कवितालाई

सुन्दरताको दासताबाट मुक्त पारौं

कलाको अनन्त बन्धनबाट मुक्त पारौं

र हेरौं

कबिताको बत्ति निभेपछी

अझ कति अंध्यारो देखिँदो रहेछ दुनियाँ

अझ कति खाली हुँदो रहेछ रिक्तता

के अन्तर छ

मन्दिर र बेश्यालयको नग्नतामा

के अन्तर छ

संसद भवन र आर्यघाटको दुर्गन्धमा

के अन्तर छ

न्यालय र मासु पसलको क्रुरतामा

यिनीहरुकै पर्खालबाहिर

सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता

आज त्यसलाई

कुरूप पार्न मन लागिरहेको छ !

आउ प्रिय कविहरु

आजै कबिताको मृत्यु घोषणा गरौँ

र हेरौं

झन कति जीवन्त देखिँदो रहेछ

कबिताको लासमाथि जन्मिएको कविता

हेरौं

कबिताको मृत्युमा खुसीले

कुन हदसम्म बौलाउँदो रहेछ बन्दुक

कति टाढासम्म सुनिँदो रेहछ – सत्ताको अट्टहास

र कति उदास देखिँदो रहेछ – कलाको अनुहार

सुन्दर कबिताहरु लेख्नलाइ त

सुन्दर समय बाँकी नै’ छ

किन आज लेख्न मन लागिरहेको छ

समयको अन्तिम लहरसम्म नलेखीएको

सबैभन्दा कुरूप कविता

जसरी बन्दुकले लेख्छ

हिंसाको कुरूप कविता सहिदको छातीमा …

एक्लै कति

सुन्दर भएर बसिरहोस कविता !