गाउँको बात मार्दै हिंडीरहंदा

बाटोमै मसँग

कापी र कलम माग्यो सानो भाइले !

मैले कसरी बुझाउने होला उसलाई

म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु

कापी, कलम र पुस्तक दिने दायित्व

राज्यको हो, बिचरा उसलाई थाह छैन

र राज्य

कि त झगडा गरिरहेको छ

कि त मस्त निदाइरहेको छ !

मैले कसरी बुझाउने होला उसलाई

म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु !

सम्भवत: थमाउला एकदिन राज्यले

उसका हातमा कापी, कलम र पुस्तकहरु

जब उसका हातहरुमा

बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन्

मैले कसरी बुझाउने होला उसलाई

म उसलाई उसकै देशको कथामात्र दिनसक्छु !