हिजो केहि रुढ कविहरु थिए

जो भन्थे

कविताको लागिमात्र भएपनि

अलिकति अंध्यारो चाहिन्छ !

केहि चिन्तकहरु थिए

जो सोच्थे

सत्यलाई पुष्टि गर्न

अलिकति अँध्यारो जोगाउनुपर्छ

हे ईश्वर

मा जताजतै उज्यालै उज्यालो देखिरहेछु

अचनाक कसरि मेटिएर गयो अँध्यारो दुनिया ?

सोचिरहेछु

अँध्यारो, जो थियो आज बिहानसम्म

त्यसलाई बगाएर लागेको छ उज्यालोको नदीले

उदासी, जो थियो उभिएको हृदयसम्म

बिद्रुपता, जो थियो टाँगिएको आँखासम्म

पगालेर गएको छ उज्यालोको तापले

छैन, अब कुनै अँध्यारो बाँकी छैन

केटाकेटीहरुको झोलाभित्र

छैन, अब कुनै कुरुपता बाँकी छैन

छातीको सुरुंगभित्र !

गाउँलेहरुको पेटभित्र

भोकको कुनै अँध्यारो छैन

स्कुलहरुमा / अस्पतालहरुमा

कुनै आतंक नाचिरहेको छैन !

आँखाहरुमा

फेरी फर्केर आएका छन् सपनाहरु

लेख्न मुस्किल मुस्कानहरु छन् डबलीहरुमा

पार्लियामेन्टमा जस्तो चमक छ झुपडीहरुमा

सीमनाहीन पृथ्वीको अन्तिम छेउसम्म

कुनै शोकगीत बजिरहेको छैन

समयले सिलाएको नयाँ लुगा लगाएर

सडकमा हिंडिरहेको छ एउटा युग

यो देशको एउटा पोखरीनजिक

गर्वसाथ

बुद्धले फेरी आफ्नो पुनर्जन्मको घोषणा गरिरहेछ !

हे ईश्वर म जताततै उज्यालै उज्यालो देखिरहेछु

जताततै उज्यालै उज्यालो देखिरहेछु

जताततै उज्यालै उज्यालो देखिरहेछु

माफ गर्नुस् प्रिय भावकहरु

ओहो यो कस्तो भयानक सपना देखिएछ

जो मा संधैसंधै देखिरहन चाहन्छु

मेरो अन्तिम कविता

मा तिमीलाई यस्तैयस्तै लेखिरहन चाहन्छु !